Tuesday, December 28, 2010

हवाई उडान सुरक्षाका लागि सरसफाइ

बेला-बेलामा विमानस्थलभित्र चराहरु प्रवेश गरी हवाई उडानमा अवरोध पुर्याएपछि नागरिक उडड्यन कार्यालयले पोखरा विमानस्थलवरपर सरसफाइ गरेको छ।

चरा ठोक्किएर जहाजमा क्षति पुगेका घटना भएपछि उडड्यन कार्यालयको १२औं वार्षिक उत्सवका अवसरमा सोमबार उडान सुरक्षासम्बन्धी सचेतना र्याली र सरसफाइ कार्यक्रम गरिएको हो। सरसफाइ कार्यक्रममा एक गाडी फोहोर संकलन भएको पोखरा विमानस्थलका प्रमुख नरेन्द्र थापाले जानकारी दिनुभयो। बेलाबेलामा चराहरु विमानस्थलमा प्रवेश गरेर उडानमा अवरोध गरेकोले त्यसलाई रोक्न विमानस्थलवरपर सरसफाइ गरेका हौं’ उहाँले भन्नुभयो- यस कार्यले वातावरण पनि स्वच्छ हुने र हवाई उडान सुरक्षामा पनि मद्दत पुर्याउँछ।

बर्ड स्ट्राइकले हवाई उडानको सुरक्षामा कहिलेकाहीँ समस्या देखिएकोले त्यसलाई न्यूनीकरण गर्न सरसफाइ गरेको उहाँको भनाइ छ। विमानस्थलवरपर जथाभावी फोहोर फाल्दा चराहरु आउने र उडानमा समस्या पार्ने गरेकोले स्थानीयवासीलाई फोहोरको उचित व्यवस्थापन गर्न थापाले आग्रहसमेत गर्नुभयो। पोखरामा चराहरु ठोकिंकदा विमानमा क्षति पुगेको घटना भएका छन्। उहाँले भन्नुभयो- जाडो सिजनमा भन्दा गर्मी मौसममा यस्तो समस्या बढी हुने गरेको छ।

विशेष गरी मासुजन्य पदार्थमा चराहरु लोभिने हुँदा विमानस्थल वरपरका फ्रेस हाउसलाई फोहोरको उचित व्यवस्थापन गर्नका लागि विमानस्थलले सचेत गराएको छ। फोहोरको उचित व्यवस्थापनमा ध्यान नदिए वरपरका मासु पसल हटाउनका लागि पनि विमानस्थलले सोच बनाएको थापाले जानकारी दिनुभयो।
एक वर्षअगाडि उडान भर्न लागेको जहाजमा चरा ठोकिंकदा पखेटामा क्षति भएको थियो भने केही वर्षअगाडि पनि उडिरहेको विमानमा गिद्ध ठोकिंकदा जहाज विमानस्थलमै फर्केको थियो। गत असोज पनि चराकै कारण उड्न लागेको जहाज आधा घण्टा होल्ड भएको थियो ।

सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै पर्यटक झलक थापाले पर्यटन क्षेत्रलाई नेपाललाई विश्वमा चिनारी दिने सशक्त माध्यम बनाउनुपर्ने बताउनुभयो। सरसफाइ तथा र्यालीमा विभिन्न संघसंस्थाका प्रतिनिधि विद्यार्थी सुरक्षाकर्मीलगायतको सहभागिता रहेको थियो। र्यालीले पोखरा विमानस्थलको परिक्रमा गरेको थियो।

No comments:

Post a Comment