Tuesday, December 28, 2010

पूर्वांचल विविका उपकुलपति र रजिस्ट्रार निलम्बनको माग

पूर्वांचल विश्वविद्यालयमा भएको अनियमितता भ्रष्टाचारलाई तत्काल हटाउन पूर्वांचल विश्वविद्यालय सहयोग तथा समन्वय समिति गोठगाउँ मोरङले विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामावतार यादव र रजिस्ट्रार राजकुमार ठाकुरलाई तुरुन्त निलम्बन गर्न सरकारसँग माग गरेको छ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६५ जेठ २७ गतेको निर्णयअनुसार ६ महिनाभित्र केन्द्रीय कार्यालय आफ्नै भवनमा सार्न आदेश दिए पनि उपकुलपति प्रा.डा. यादवले उक्त आदेशविपरीत निर्णय गरेका थिए।

बिहीबार राजधानीमा एक कार्यक्रम गरी सहयोग तथा समन्वय समितिले उपकुलपति यादवको निर्णय आयोगको आदेशविपरीत भएकाले विश्वविद्यालयको केन्द्रीय कार्यालय आफ्नै भवनमा सारी संचालन गर्नुपर्ने माग गरेको छ। विश्वविद्यालय ऐन २०५० को दफा ३ को उपदफा २ बमोजिमको दफा खारेज गरी केन्द्रीय कार्यालय गोठगाउँ मोरङमा नै हुनुपर्ने ८ सय ५ बिघा क्षेत्रफलभित्र रहेका भौतिक पूर्वाधार र प्राकृतिक सम्पदाको संरक्षण गर्नुपर्ने माग समितिले गरेको छ।

त्यस्तै विश्वविद्यालयलाई मेडिकल काउन्सिलबाट मेडिकल कलेज साचालन गर्न अनुमति लिई कक्षा साचालन गर्नुपर्ने तथा अस्पताललाई साधनस्रोत सम्पन्न बनाई नियमित र व्यवस्थित गर्नुपर्ने समेत समितिले सरकारसमक्ष जोडदार माग गरेको छ।
हाल विश्वविद्यालयको ८० विघा क्षेत्रमा अत्याधुनिक ९ वटा भवन अस्पतालका लागि चाहिने बेड ल्याब कक्षा साचालन गर्नका लागि प्रशस्त उपकरण भए पनि ती उपकरणको सही सदुपयोग नभएको नेपाली कांग्रेसका पूर्वसांसद् अशोक कोइरालाले जानकारी दिनुभयो।
त्यस्तै सहयोग तथा समन्वय समितिका अनुसार विश्वविद्यालयको करिब १७ अर्बबराबरको सम्पत्ति पनि उपयोगविहीन अवस्थामा रहेको तथा विश्वविद्यालयका करिब २ सय कर्मचारीहरु कामविहीन रहेको बताइएको छ। कार्यक्रममा आफूहरुको मागको सरकारले सुनिश्चित नगराए अन्तमा पूर्वांचल क्षेत्रमा सम्पूर्ण शैक्षिक क्षेत्र अनिश्चितकालका लागि ठप्प पार्ने सहयोग तथा समन्वय समितिले जानकारी गराएको छ।

No comments:

Post a Comment