बाँके-कोहलपुर क्षेत्रका तीन दर्जन विद्यालयले सुरक्षा माग गरेका छन्।
बाँकेमा नाम नै नसुनिएको एउटा भूमिगत समूहले दैनिकजसो एसएमएस गरेर ठूलो रकम चन्दा माग्दै नदिएमा जति बेला जे पनि हुन सक्छ भन्ने धम्की दिएपछि ३६ वटा विद्यालयका प्राचार्यहरुले प्रहरी-प्रशासनसँग सुरक्षा माग गरेका हुन्। हिमाल पहाड तराई मध्यकमान्ड -नामक भूमिगत समूहले ९८०४५०४८०७ नम्बरको मोबाइलबाट दैनिकजसो एसएमएस गरेर ठूलो रकम चन्दा मागको धम्की दिँदै ज्यान मार्ने -सम्मको चेतावनी दिइरहेपछि शुरुमा घटनालाई गोप्य राख्दै चुप बसेका ३६ वटा विद्यालयका प्राचार्यहरु प्रहरी-प्रशासन गुहार्न बाध्य भएका हुन्।
उक्त समूहले ३६ वटा विद्यालयबाट शुरुमा ३ लाखका दरका १ करोड ८ लाख दोस्रो पत्रमा २५ हजारका दरले ९ लाख रुपियाँ मागेको थियो भने अहिले दैनिकजसो एसएमएस गरेर पत्रकार र प्रहरी-प्रशासनलाई घटनाका बारेमा जानकारी गराएको भन्दै ५४ लाख रुपियाँ चन्दा माग गरेको छ।
घटनाका बारेमा सबै जानकारी दिँदै प्रहरी-प्रशासनसँग सुरक्षा माग गरे पनि विद्यालयका प्राचार्यहरु जति बेला जे पनि हुन सक्छ भन्ने धम्कीले चिन्तित छन्। राज्यको फितलो सुरक्षास्थिति र घटनापछि चिन्तित बनेका अभिभावकहरुलाई सम्झाउँदा-सम्झाउँदै हैरान भएका प्राचार्यहरुले बार्गेनिङ गर्न पाए उक्त समूहलाई केही सहयोग गर्ने मनस्थिति बनाएको स्रोतले बताएको छ।
प्राचार्यहरुको बैठकले उक्त समूहलाई ३ लाख रुपियाँसम्म चन्दा दिने मनस्थिति बनाएको बताइएको छ। कोहलपुर क्षेत्रमा रहेका सातवटा मावि र उच्च माविले २५ हजारका दरले रकम संकलन गर्ने र अन्य विद्यालयबाट अवस्था हेरेर सहयोग रकम उठाएर समूहलाई दिने मनस्थिति बनाइएको छ -एक शिक्षकले भन्नुभयो- तर उक्त समूह रकम लिन नै आउँदिन भन्छ।
समूहले पहिला-पहिला फोन उठाएर कुरा गर्ने गरेको भए पनि अहिले दैनिकजसो एसएमएस गर्ने तर फोनमा कुरा नगर्ने गरेको छ। १ करोड ८ लाख मागेको समूह ९ लाख रुपियाँमा झरेको भए पनि फेरि चन्दा रकम बढाएर ५४ लाख रुपियाँ पुर्याएको छ।
कोहलपुर क्षेत्रका विद्यालयहरुले इलाका प्रहरी कार्यालयको स्तर बढाएर सुरक्षास्थिति मजबुत बनाउन माग गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताउनुभयो। स्कुलहरु चन्दा मागको धम्कीले हैरान भएको तथा कोहलपुर क्षेत्र ठूलो भएकाले इप्रकाले सुरक्षा दिन नसकेको बताउँदै शिक्षक तथा अभिभावकहरुले इप्रकाको स्तर बढाएर डीएसपी बस्ने प्रहरी चौकी बनाएर जनताको सुरक्षा गर्न माग गरेको डीएसपी घिमिरेले बताउनुभयो। पछिल्लो समयमा कोहलपुर क्षेत्रमा चन्दा मागलगायत अपराधिक घटनाहरु बढी भइरहेका छन्।
No comments:
Post a Comment