जनकशिक्षा सामग्री केन्द्र लिमिटेडले शैक्षिकसत्र शुरु हुनुअगावै करिब १ करोड ५० लाख थान पाठ्यपुस्तक तयारी गरिसकेको जनाएको छ।
समयमै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याउने लक्ष्यअनुरुप विगत वर्षको तुलनामा यस वर्ष शैक्षिक सत्रअगावै पाठ्यपुस्तक छपाइ गरिसक्ने जनाएको छ। निजी प्रकाशन संस्थाले पूर्वांचल र पश्चिमांचल विकास क्षेत्रमा पाठ्यपुस्तक छपाइ र बिक्रीवितरण गरिरहेको अवस्थामा केन्द्रले आगामी शैक्षिक सत्रमा ती क्षेत्रमा समेत पाठ्यपुस्तक बिक्री बढाउने तयारी गरेको छ। केन्द्रका प्रवक्ता मनोहर लामिछानेले सरकारको निर्देशनअनुसार शैक्षिकसत्र शुरु हुनु दुई महिनाअगावै सम्पूर्ण पाठ्यपुस्तक छपाइ गरी देशभर पुर्याइसक्ने बताउनुभयो। सबै क्षेत्रीय कार्यालयमा नयाँ पाठ्यपुस्तक पुर्याइसकेका छौं -उहाँले भन्नुभयो विगत वर्षको तुलनामा यस वर्ष बिक्रीवितरण प्रणालीलाई समेत व्यवस्थित बनाएका छौं । प्रवक्ता लामिछानेले हालसम्म केन्द्र र क्षेत्रीय कार्यालयहरुको गोदाममा १ करोड ५० लाख थान पाठ्यपुस्तक रहेको जानकारी दिनुभयो।
पूर्वांचल क्षेत्रीय कार्यालय विराटनगरमा १८ लाख मध्यमांचलको जनकपुरमा ७ लाख ९ हजार क्षत्रीय कार्यालय भरतपुरमा ३२ लाख १५ हजार पश्चिमांचलको क्षेत्रीय कार्यालय पोखरामा १३ लाख २० हजार मध्यपश्चिमांचलको क्षेत्रीय कार्यालय नेपालगन्जमा २७ लाख ११ हजार र सुदूरपश्चिमांचलको क्षेत्रीय कार्यालय धनगढी र केन्द्रीय कार्यालयको ३९ लाख ८२ हजार थान गरी ७ वटा कार्यालयको गोदाममा १ करोड ५० लाख ७४ हजार थान पाठ्यपुस्तक रहेको केन्द्रले जनाएको छ। गोदाममा रहेका मध्ये केही पाठ्यपुस्तक गत सालकै छन्। गएको शैक्षिकसत्रमा केन्द्रले १ करोड ६१ लाख थान पाठ्यपुस्तक बिक्री गरेको प्रवक्ता लामिछानेले बताउनुभयो। केन्द्रले गत वर्ष २ करोड ४० लाख थान पाठ्यपुस्तक छापेको थियो भने यस वर्ष १० लाख थान बढाएर २ करोड ५० लाख छाप्ने भएको छ। सबै क्षेत्रीय कार्यालयको गोदाम पाठ्यपुस्तकले भरिभराउ भए तापनि थप पुस्तक राख्ने स्थान अभाव भएको छ। क्षेत्रीय कार्यालय धनगढीका प्रमुख काशिचन्द्र रोकायले पुराना पाठ्यपुस्तले स्थान ओगटेका कारण समस्या बढेको बताउनुभयो।
उहाँले केन्द्रले पुराना पुस्तक तत्काल नहटाए थप राख्न नसकिने जानकारी दिनुभयो। यसै गरी पाठ्यपुस्तक व्यवस्थित रुपमा बिक्रीवितरण गर्न केन्द्रका महाप्रबन्धकले सबै क्षेत्रीय कार्यालयहरुको अनुगमन गर्नुभएको छ। व्यवस्थित रुपमा पाठ्यपुस्तक बिक्रीवितरण गर्न अनुगमन गरिएको बताउँदै महाप्रबन्धक रामचन्द्र सिलवालले सबै क्षेत्रीय प्रमुखसँग छलफल गरेको बताउनुभयो।
No comments:
Post a Comment