Tuesday, January 4, 2011

सुक्दै छ हिमनदी

जलवायु परिवर्तनका कारण अप्रत्याशित रुपमा तापक्रम वृद्धि हुन थालेपछि विश्वकै छैटौं अग्लो धौलागिरि हिमालको नदी सुक्ने अवस्थामा पुगेको छ भने धौलागिरि हिमाल पातलिएर उत्तरबाट दक्षिणतर्फ ढल्केको वातावरणविद्हरुले बताएका छन्।

धौलागिरिको हिउँ पग्लेर बनेको एएलओ दश -हिमनदीमा पानीको सतह घट्दै गएको वातावरणविद्हरुलाई उद्धृत गर्दै जिल्ला वन कार्यालय म्याग्दीका प्रमुख पूर्णेश्वर सुवेदीले बताउनुभयो।
केही वर्षअघिसम्म हिमनदीमा पानीको सतह लिलङको बीच भागसम्म रहेकोमा हाल घटेर पुछारमा पुगेको र यही क्रममा घट्दै जाने हो भने अबको ४-५ वर्षभित्रमा हिमनदी एकादेशको कथामा परिणत हुने सम्भावना बढेको बताइएको छ। जलवायु परिवर्तनका कारण हिमनदी सुक्ने मात्र होइन हिमालको अस्तित्व पनि खतरामा परेको छ। विगतमा बाक्लो सेतो हिउँसहितको चम्किलो देखिने धौलागिरि अहिले कुप्रिएको वृद्ध मानिसझैं दक्षिणतिर ढल्केर कुरुप बनेको छ।

विगत ५४ वर्षदेखि धौलागिरि हिमाललाई आफ्नै आँगनबाट नियाल्दै आएका मुदीबगरका हीरालाल बुढाले हिमालको यो दुर्गति यसअघिका वर्षमा कहिल्यै नदेखेको बताउनुभयो। उहाँका अनुसार अहिले धौलागिरि हिमाल कुन बेला ढल्छ भन्ने अवस्थामा पुगेको छ। हिमालमा न चमक छ न त सौन्दर्य नै। तर पनि विदेशी पर्यटक फाट्टफुट्ट भए पनि आरोहण तथा घुमघामका लागि आउने गरेका छन् -बुढाले नेपाल समाचारपत्रसँग भन्नुभयो। धौलागिरि हिमालको मोहडा ढल्केपछि सम्भावित खतराले म्याग्दीको पश्चिम-उत्तरी भेगका बासिन्दा चिन्तित बनेका छन्। तर सरकार तथा सम्बन्धित निकायले यसतर्फ कुनै ध्यान नदिएको स्थानीय बासिन्दाको गुनासो छ।

जलवायु परिवर्तनका कारण म्याग्दीका ग्रामीण भेगमा आश्चर्यजनक परिवर्तन भएका छन्। यी कुरा गाउँलेका लागि खतराका सूचक बनेका छन् भने वातावरणको क्षेत्रमा काम गर्ने व्यक्तिहरुका लागि चुनौतीका विषय। तर सरकारी उदासीनताका कारण त्यससम्बन्धी अध्ययन-अनुसन्धान तथा समाधानका कुनै पनि उपाय अपनाइएको छैन।

यसै गरी जलवायु परिवर्तनकै कारण पानी पर्ने क्रम कम भएको छ। घनाजंगल भएका म्याग्दीका ग्रामीण क्षेत्रहरुमा पनि यस वर्ष अत्यन्त कम मात्रमा पानी परेको जिल्ला वन कार्यालय म्याग्दीले
जनाएको छ। पानी कम परेपछि तापक्रम वृद्धिका कारण म्याग्दीको जैविक विविधतासमेत खतरामा परेको वन अधिकृत पूर्णेश्वर सुवेदीले बताउनुभयो।

तापक्रम वृद्धिका कारण वायुमण्डलमा भएको आद्रताको मात्रा कम हुने र पृथ्वीका ज्वलनशील पदार्थ सुक्ने हुँदा आगलागीको प्रकोप रहने बताइएको छ। गत वर्ष म्याग्दीका जंगलहरुमा भएको भीषण आगलागीका कारण तीन जनाको ज्यानसमेत गएको थियो। यसै गरी माटोमा अम्लियपनाको वृद्धि भएपछि कृषि उपजहरुको उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ।

उता अचानक भएको बेमौसमी वर्षाका कारण म्याग्दीका कुहिने मंगले दरवाङ क्षेत्रमा गएको भीषण पहिरोले प्रशस्तै क्षति पुर्याएको पनि जिल्ला कृषि विकास कार्यालयको तथ्यांकमा उल्लेख छ। यसै गरी धौलागिरि हिमालमा हिमस्खलन हुने क्रम बढेपछि नदीको सतह बढ्दै जान थालेको छ। जसले गर्दा लाखौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको कृषकहरुले बताएका छन्।

No comments:

Post a Comment