परीक्षा सकिएको सात महिना बितिसक्दा पनि कक्षा ११ को परीक्षाफल प्रकाशित हुन नसकेपछि ४ लाख २८ हजार विद्यार्थीको भविष्य अन्योलमा परेको छ। ती विद्यार्थीले मौका परीक्षा कहिले दिने र १२ कक्षाको फारम कहिले भर्ने भन्ने विषयसमेत अनिश्चित हुन पुगेको छ।
यस्तो गम्भीर विषयमा उच्च माध्यमिक विद्यालयका परीक्षा नियन्त्रक मौन छन्। गत वर्ष कात्तिक २७ गते परीक्षाफल प्रकाशित भएकोमा यस वर्ष पुस महिनाभित्र पनि प्रकाशित हुने सम्भावना कम देखिएको छ। त्यसले गर्दा यस वर्ष ११ को परीक्षाफल करिब दुई महिना ढिलो हुने भएको छ। परीक्षाफल प्रकाशन गर्ने तयारी भइरहेका बेला परीक्षानियन्त्रक परिवर्तन गरेपछि समस्या बढेको हो।
परीक्षानियन्त्रक दुर्गा अर्यालले आन्तरिक कारणले समयमै परीक्षाफल प्रकाशित गर्न ढिलो भएको स्वीकार्दै पुस महिनाभित्र प्रकाशित गरेरै छाड्ने बताउनुभयो।
एनेकपा माओवादीको बन्द शिक्षकहरुको हडतालका कारण करिब दुई सातासम्म परीक्षा स्थगित भएको नियन्त्रक अर्यालले दाबी गर्नुभयो। स्रोतका अनुसार अकस्मात् तत्कालीन परीक्षानियन्त्रक देवीप्रसाद बराकोटीलाई हटाएपछि समस्या बढेको हो। उहाँलाई मंसिर ३ गते हटाएर अर्याललाई कामु परीक्षानियन्त्रक दिएर ल्याइएको हो। उमाशिपका उपाध्यक्ष डा। हेमकुमार मिश्रले चाँडै नै परीक्षाफल प्रकाशित हुने बताउँदै परीक्षाका सबै कर्मचारी चौबीसै घण्टा काम गरिरहेको दाबी गर्नुभयो।
उहाँले तीन महिनासम्म उपाध्यक्ष्य र सदस्य सचिवको कार्यालयमा तालाबन्दी हुँदा पनि ढिलो हुन गएको जिकिर गर्नुभयो।
उमाशिपले मौका परीक्षाका लागि माघ १५ गतेसम्म नियमित र १५ गतेपछि डबल दस्तुर तिरेर फारम भर्ने व्यवस्था गरेको छ। हालसम्म पनि एघार कक्षाको परीक्षाफल प्रकाशित गर्न नसकेपछि मौका परीक्षा कहिले हुन्छ भन्ने विषयमा समेत अन्योल छ। उता त्रिभुवन विश्वविद्यालयले स्नातक तहको पढाइ शुरु गरिसकेको अवस्थामा बाह्रकक्षा उत्तीर्ण भई एघारको परीक्षाफलको नतिजा पर्खिरहेका विद्यार्थीको एक वर्ष त्यतिकै खेर जाने देखिएको छ। त्रिविले दुई महिनाअघिदेखि कक्षा साचालन गरिसकेको छ। उमाशिपले कक्षा बाह्रको पुनर्योगको नतिजासमेत प्रकाशित गर्न सकेको छैन। एघारको परीक्षाफल प्रकाशित गर्न करिब ८० जना कर्मचारी खटाए पनि कामले गती लिन सकेको छैन।
No comments:
Post a Comment