Tuesday, January 4, 2011

माओवादीमा मिलापत्र

एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको सोमबारदेखि प्रारम्भ भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामूहिक निर्णयबाट पार्टीलाई प्रभावकारी बनाउन सकिने भन्दै सबै नेतालाई जिम्मेवारी दिने गरी प्रस्ताव गर्नुभएको छ।

अघिल्लो बैठकमा पार्टी नेता मोहन वैद्यको प्रतिवेदनलाई समेटेर अगाडि बढ्ने प्रयत्न गर्नुभएका अध्यक्ष प्रचण्डले यो बैठकमा अर्का नेता डा. बाबुराम भट्टराईको प्रतिवेदनलाई समेटेर प्रतिवेदन पेस गरेपछि फरक मतलाई पनि सम्मान गर्ने परिपाटीको शुरुआत हुन थालेको हो कि भन्ने डा. भट्टराईपक्षीय नेताहरुले बताएका छन्।
पार्टीभित्रका आन्तरिक विवाद बाहिर आउन थालेपछि पार्टीलाई क्षति पुर्याएको निष्कर्षसहित अनुशासनको कडा व्यवस्था गर्नुपर्ने प्रस्तावसमेत अध्यक्ष प्रचण्डले गर्नुभएको छ।

चालू बैठकमा पार्टीको आगामी कार्ययोजना र सांगठनिक जिम्मेवारी बाँडफाँड गरी पार्टीलाई नयाँ र चुस्त ढंगले अगाडि बढाउनुपर्ने प्रस्तावसहित छलफल प्रारम्भ भएको छ। गोरखाको पालुङटारमा भएको विस्तारित बैठकपछि पार्टीका तीन नेता प्रचण्ड डा. भट्टराई र वैद्यका फरक-फरक प्रतिवेदनलाई आगामी महाधिवेशनसम्म लैजाने निर्णय भए पनि त्यतिखेरसम्म तीनवटै प्रतिवेदनलाई आधार मानेर पार्टीलाई हाँक्नुपर्ने निष्कर्षमा पार्टी नेतृत्व पुगेको छ।

विगतमा पनि आन्दोलनको मोर्चा सम्हाल्नुभएका नेता डा. बाबुराम भट्टराई नै पुनः मोर्चाको इन्चार्ज स्थायी समिति सदस्य नेत्रविक्रम चन्दलाई वाईसीएल इन्चार्ज कुलबहादुर केसीलाई सेना समायोजन समितिको सचिवालयमा पोलिटब्युरो सदस्य लोकेन्द्र विष्टलाई लिम्बुवान राज्यसमितिको इन्चार्ज बनाउने गरी अध्यक्ष प्रचण्डले बैठकमा प्रस्ताव गर्नुभएको छ।

No comments:

Post a Comment