Friday, January 7, 2011

पौडेललाई प्रम बनाए अन्मिनको म्याद थपिने

एकीकृत नेकपा माओवादी ले नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गरेमा कांग्रेसले राष्ट्रसंघीय मिसन अन्मिन को म्याद थप गर्ने भएको छ।

नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी बीच बुधबार राजधानीमा भएको वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्मिनको म्याद थप गर्न सहमति जनाए नेता पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्न सकिने बताउनुभएको थियो।

अध्यक्ष प्रचण्डको प्रस्तावलाई पार्टी सभापति सुशील कोइरालाले बिहीबार पदाधिकारी बैठकमा राख्नुभएको थियो तर पदाधिकारी बैठकले माओवादीको उधारो आश्वासनका आधारमा म्याद थप गर्न नसकिने तर यथार्थमा नै प्रधानमन्त्रीमा पौडेललाई निर्वाचित गराएमा तत्काल म्याद थप गर्न सकिने निर्णय गरेको छ।
माओवादी र कांग्रेसबीचको बैठकमा अनुपस्थित रहनुभएका नेता कृष्ण सिटौलाले बिहीबार भएको पार्टीको बैठकमा प्रचण्डका गुलियो आश्वासनका भरमा भने म्याद थप गर्न नहुने बताउनुभएको थियो।

प्रचण्डले तपाईंहरुको कानमा गुलियो हालिदिनुभयो होला र तपाईंहरु दंग पर्नुभएको होला तर माओवादीलाई शान्तिप्रक्रियामा ल्याउन भूमिका खेलेको एक व्यक्तिका नाताले मैले प्रचण्ड र माओवादीलाई चिनेको छु उनीहरुको मीठो कुरामा भुलिनुहुँदैन -नेता सिटौलाले पार्टी बैठकमा भन्नुभएको थियो।

नेता सिटौलाले प्रधानमन्त्रीमा पौडेललाई निर्वाचित नगरेको अवस्थामा अन्मिनको म्याद थप गर्न नहुने र माओवादीसँग सेना र हतियार भएको अवस्थामा माओवादी नेतृत्वमा सरकार गठनलाई कांग्रेसले कुनै पनि सर्तमा स्वीकार गर्न नहुने अडान राख्नुभएको थियो। नेपालको समग्र शान्तिप्रक्रिया कुनै पनि विदेशी राष्ट्र वा संस्थाको सहयोगबिना नै शुरु भएको भन्दै सिटौलाले अब पनि अन्मिन रहुन्जेल शान्तिप्रक्रिया अगाडि नबढ्ने विचार व्यक्त गर्नुभएको थियो।

नेता सिटौलाको विचारपछि सभापति कोइरालाले पौडेललाई प्रधानमन्त्री बनाउनेबाहेकको कुनै पनि आश्वासनमा अब अन्मिनको म्याद थप नगर्ने र माओवादी सेना र हतियारविहीन नभई माओवादी नेतृत्वमा सरकार बन्न नदिने र सरकार बन्ने स्थिति आएमा कांग्रेस प्रतिपक्षमा बस्ने निर्णय सुनाउनुभएको थियो।

सो बैठकपछि भएको तीन दलको बैठकमा समेत कांग्रेसले अन्मिनको म्याद थप गर्न नहुने अडान लिएको थियो।
प्रधानमन्त्री माधवकुमार नेपाल अन्मिनको म्याद थप गर्न नहुने अडानमा उभिनुभएकाले पनि म्याद थप गर्ने निर्णय गराउनुपर्ने भएमा माओवादीले कांग्रेस नेता पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्नुपर्ने अवस्था आउने भएको छ।

No comments:

Post a Comment