नेपालगन्ज कारकादोंस्थित एक व्यापारिक प्रतिष्ठानमा बुधबार अपरा³न अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ।
विस्फोटबाट पुष्पलाल चोकनजिकैको गौरीशंकर हार्डवेयरका सञ्चालक कौशल आचार्यसहित चार जना घाइते भएका छन्। ग्राहकका रूपमा हार्डवेयर पसलमा गएका व्यवसायी डिल्लीराज रेग्मी, रामहरि चालिसे र शिवहरि चालिसे विस्फोटमा परी गम्भीर घाइते भएका हुन्। ठूलो आवाजका साथ भएको विस्फोटको घटनालगत्तै वरिपरि भागाभाग मच्चिएको थियो। विस्फोटले पसलमा क्षतिसमेत पुगेको छ।
नुवाकोट, त्रिशूलीका काकाभतिजा चालिसे बर्दिया ठाकुरद्वाराका रिसोर्ट सञ्चालक हुन् भने राँझा, बाँकेका रेग्मी कार्गाे व्यवसायी हुन्। दुइ जनालाई थप उपचारका लागि बुधबार साँझ नै काठमाडौं लगिएको छ। खुट्टामा गम्भीर चोट लागेका रेग्मी तथा हात र छातीमा गम्भीर चोट लागेका शिवहरिलाई जहाजबाट काठमाडौं पठाइएको हो।
प्रहरीले बोरामा टाइमबम राखिएको हुन सक्ने आशंका गरेको छ। ँघटनाप्रकृतिले टाइमबम राखिएको हो कि भन्ने देखिन्छ’ -घटनास्थल पुगेका बाँके प्रहरीप्रमुख प्रहरी उपरीक्षक महेशविक्रम शाहले भने।
घटनालगत्तै नेपालगन्जका सबै नाकामा प्रहरीले आŠनो सक्रियता बढाएको छ। विस्फोटमा संलग्नहरूको खोजी भइरहेको बाँके प्रहरीप्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।
घटनालाई लिएर नेपालगन्ज उद्योग वाणिज्य संघले गम्भीर चिन्ता व्यक्त गरेको छ। संघका कार्यवाहक अध्यक्ष शतीशकुमार अग्रवाल र महासचिव श्यामकुमार शर्माले संयुक्त विज्ञप्तिमार्फ आपराधिक कार्य रोक्न र आतंकित व्यवसायीको सुरक्षाव्यवस्था मिलाउन माग गरेका छन्।
No comments:
Post a Comment