शान्तिसुरक्षा र जनताको सेवामा खटिने प्रहरीको आचरणमा सुधार ल्याउन महानगरीय आयुक्त कार्यालयले मंगलबारदेखि लागू हुने गरी मार्सल टोली गठन गरेको छ। आयुक्त कार्यालयका प्रहरी नायब उपरीक्षक भीम ढकालको संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन गरिएको हो।
प्रहरीहरूको आचरण र व्यवहारका विषयमा विभिन्न टीकाटिप्पणी हुन थालेपछि प्रहरीको कार्यसम्पादनमा सुधार ल्याउन उक्त टोली गठन गरिएको आयुक्त कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधव नेपालले जानकारी दिनुभयो।
सो टोलीले उपत्यकामा रहेका प्रहरी कार्यालयहरूले गरेका कामकारबाहीका बारेमा स्थलगत रूपमा बुझने र जनताको काम भए/नभएको बारेमा जानकारी लिएर मथिल्लो निकायमा जानकारी गराउने पनि उहाँले बताउनुभयो।
विभिन्न कार्यालयमा रहेका प्रहरीको आचरणमा सुधार आए/नआएको विषयमा अनुगमन गर्ने, पीडितका रूपमा प्रहरी कार्यालय आउनेहरूलाई प्रहरीले गर्ने व्यवहारमा सुधार आए/नआएका बारेमा अनुगमन गर्ने, प्रहरीले विभिन्न अभियोगमा नियन्त्रणमा लिएकाहरूलाई कुटपिट तथा दुर्व्यवहार भए/नभएको विषयमा छानबिन गर्ने, मानवअधिकारको संरक्षण भए/नभएको बारेमा समेत सो टोलीले अनुगमन गर्ने उहाँले जानकारी दिनुभयो।
No comments:
Post a Comment