शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले एसएलसीको प्रश्नपत्र स्वदेशमै छाप्ने प्रतिवद्धता जनाउनुभएको छ।
सार्वजनिक लेखा समितिलाई सोमबार सम्बोधन गर्दै उहाँले यो वर्षदेखि जनक शिक्षामै एसएलसी प्रश्नपत्र छपाउने जानकारी दिनुभयो। सरकारले स्वदेशमै प्रश्नपत्र छपाइ गर्न सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्रमा शैक्षिक सुरक्षण प्रेसको व्यवस्था गरेको बताइएको छ। यस विषयलाई लिएर सार्वजनिक लेखा समितिले सभासद् लालमणि चौधरीको संयोजकत्वमा जनक शिक्षा सामग्री केन्द्रको अवस्थाबारे अध्ययन उपसमिति गठन गरेको थियो।
गतसाता अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव अर्थ मन्त्रालयका सचिव र शिक्षा मन्त्रालयका सचिवलाई एसएलसीको प्रश्नपत्र स्वदेशमै छाप्न निर्देशन दिएको थियो। प्रश्नपत्र छपाइका निम्ति गठन गरिएको सम्भावना अध्ययन टोलीले स्वदेशमै सम्भव भएको र सुरक्षाको जिम्मा सेनालाई दिनुपर्ने सुझाएको थियो। त्यसै गरी छापाखाना र हाताभित्र सीसीटीभी क्लोज सर्किट टेलिभिजन राख्नुपर्ने कन्ट्रोल रुमको व्यवस्था गर्नुपर्ने सुझाएको छ।
साथै सार्वजनिक लेखा समितिको सोमबार बसेको बैठकले भ्रष्टाचारमा आरोपित उच्चमाध्यमिक शिक्षा परिषद्का तात्कालीन उपाध्यक्ष डा. उपेन्द्र कोइराला सदस्यसचिव रामबहादुर खड्का तथा परिषद्को लेखा र भण्डार शाखाका प्रमुख कर्मचारीलाई छिटो कारबाही गर्न निर्देश गरेको छ।
No comments:
Post a Comment