Tuesday, December 28, 2010

सेवा लिने र दिने दुवै हैरान

आवश्यकता यन्त्रले पढ्ने राहदानी फारम भर्ने दक्ष व्यवसायीहरुको आवश्यकता । व्यवसायीले केन्द्रीय राहदानी विभागले तोकेबमोजिमको फारम भरिदिनुपर्नेछ तर सेवाशुल्कमा रोकतोक छैन।

विज्ञापनरुपी अनुरोध परराष्ट्र मन्त्रालयपरिसरमा राहदानीका लागि फारम भर्न बसेका सेवाग्राही र सेवा दिन बसेका राहदानी शाखाका कर्मचारीहरुको हो। विद्युतीय राहदानीका लागि फारम भर्दा कयौं पटकसम्म बिग्रिएर हैरान भएका सेवाग्राही र सेवाप्रदायकहरु अहिले दक्ष व्यवसायीको सेवाको खोजीमा छन्।

कयौं सेवाग्राहीले अनलाइनमार्फत डाउनलोड गरिएका फारमहरु बुझाउन ल्याउँछन् तर उनीहरुको फारममा कहिले आकार सानो त कहिले ठूलो भएर समस्या पर्ने गरेको कर्मचारीहरु बताउँछन्। पुस ३ गते गोर्खा पल्टनमा भर्ती भएका ८० जवानहरुका लागि राहदानी बनाउन फारम भर्दा दिक्क भएका एक कारिन्दाले भने- ँफारम भरिदिने दक्ष व्यवसायी भए कति सजिलो हुन्थ्यो।
यही पुस २६ गतेसम्म ती जवानहरुले काठमाडौं छोडिसक्नुपर्नेछ। तर राहदानीका लागि फारम नमिलेर हैरान भएको उनको गुनासो छ । उनी थप्छन्- एकातिर हैरानी अर्कातिर काम नबन्दा जागिर जान्छ कि भन्ने डर छ। उनी भन्छन्- ब्रिटिस सेनालाई समयमै काम चाहिन्छ तर फारममा विभिन्न खालका गल्ती देखिएकाले समयमै काम नबन्ला भन्ने डर।

गोर्खा सैनिकका कारिन्दाको जस्तै हालत पाल्पाबाट राहदानी बनाउन आएका रुपेश थापाको पनि भयो। उनले भने- एमए पास गरेकाले भरेको फारम त मिल्दो रहेनछ हामीले भरेको के मिल्नु। लाइनमा झन्डै ५ घण्टा बस्दा मात्रै फारम बुझाउने पालो पाएका थापा फारम स्वीकृत नभएपछि निराश बनेका थिए। अहिले ४ बज्दासम्म खाना पनि खाएको छैन न त काम नै बन्यो -उनले नेपाल समाचारपत्रसँग दुखेसो पोखे।

विदेश जान निद्रा शीत र सिरेटो नभनी नारायणहिटीपरिसर वरिपरि पंक्तिबद्ध सेवाग्राहीहरुले घन्टौंपछि मात्रै फारम बुझाउने मौका पाउँछन् तर फारममा कर्मचारीले स्केल मिलाएको स्लाइड राख्दै मिलेन भएन भन्दा साह्रै दिक्क लाग्ने उनीहरु बताउँछन्।
प्राविधिक समस्याले गर्दा करिब ५ सय फारम बुझ्ने लक्ष्य राखेको केन्द्रीय राहदानी विभागले पहिलो दिन जम्मा ३ सय ७४ फारम मात्रै स्वीकृत गरेको थियो। विभागका अर्का अधिकारीले भने- पहिलो दिन स्वीकृत भनिएका ३ सय ७४ फारममध्ये कम्प्युटरमा परीक्षण गर्दा झन्डै १ सयजति त अस्वीकृत भएका थिए।

सेवाग्राहीका फारमहरु त्यत्तिकै स्वीकृत गर्न नसकिने कर्मचारीहरु बताउँछन्। उनीहरु थप्छन्- त्यत्तिकै स्वीकृत गर्यो भने पछि कम्प्युटरले फारम स्वीकृत गर्दैन अनि कर्मचारी र सेवाग्राही दुवैलाई समस्या पर्दछ। बरु कोही अनलाइन व्यवसायीले फारम भरिदिए आफूहरु र सेवाग्राही दुवैलाई सजिलो हुने उनको भनाइ छ।

विगतमा एकै दिनमा २ हजार ७ सयसम्म हस्तलिखित राहदानीको माग भएकोमा अहिलेको एमआरपीको माग त्योभन्दा बढी छ। तर दैनिक रुपमा औसत १ हजारको संख्यामा मात्रै फारमहरु स्वीकृत हुने गरेको राहदानी विभागका एक उच्च अधिकारीले बताए। विभागले लिखित र कम्प्युटरबाट छापिएका दुवैखाले फारमलाई स्वीकृति दिए पनि दुवैखाले फारममा तस्वीरदेखि लेखनप्रक्रियामा व्यापक त्रुटि देखिएको छ।

No comments:

Post a Comment