भीओआईपीमार्फत विदेशबाट आउने कल बाइपास गर्ने आपराधिक समूहहरु पक्राउ पर्न थालेपछि नेपाल टेलिकमलाई मासिक २० करोडभन्दा बढी फाइदा पुगेको छ।
नेपाल टेलिकमका प्रवक्ता सुरेन्द्रमान थिकेले प्रहरी सक्रियतामा आपराधिक समूहलाई पक्राउ गर्न थालेपछि राष्ट्रिय राजस्व वृद्धि हुन थालेको जानकारी दिनुभयो। कल बाइपास हुन लागेपछि नेपाल टेलिकममार्फत नेपाल भित्रिने कलको संख्या घटेर २ करोड ८० लाख मिनेट हुन पुगेकोमा प्रहरी सकि्रयताका कारण अहिले प्रतिमहिना ७ करोड मिनेट कल नेपाल टेलिकममार्फत भित्रिने गर्छ भने एनसेल यूटीएल र अर्को एक सेवाप्रदायकमार्फत पनि कल भित्रिने गर्छ।
नेपालमा अन्तर्राष्ट्रिय कल भित्र्याउन नेपाल टेलिकमलगायत चारवटा सेवाप्रदायकले मात्रै कानुनी अधिकार प्राप्त गरे पनि पछिल्लो समयमा कल बाइपास गरेर गैरकानुनी रुपमा आपराधिक समूहले करोडौं कमाउँदै आएका थिए भने राजस्वमा ठूलो क्षति हुँदै आएको थियो।
कल बाइपास गर्नेहरुले सबैभन्दा बढी एनसेल र नेपालको टेलिकमको सिमकार्ड प्रयोग गर्दै आएको देखिएको छ र कल बाइपास गर्नेहरुमा सबैभन्दा बढी बंगलादेशी नागरिकको सहभागिता हुने गरेको छ।
कल बाइपासमा प्रयोग भएका २ लाख सिमकार्ड नेपाल टेलिकमले र १ लाख सिमकार्ड एनसेलले ब्लक गरिसकेका छन्। कल बाइपासमा सबैभन्दा बढी एनसेलको सिम प्रयोग भएपछि हामीले अब सिमकार्ड वितरणमा सचेतता अपनाएका छौं भने वितरण गरिसकेको सिमकार्डको पनि प्रमाणिकरण गरिरहेका छौ- एनसेलकी प्रवक्ता साजु कोइरालाले भन्नुभयो।
कल बाइपासको बारेमा पछिल्लो समयमा छानबिनलाई तीव्र बनाएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पछिल्लो समयमा नेपाल दूरसंचार प्राधिकरण एनसेललगायतका सेवा प्रदायकहरुसँग समन्वय गरेर काम गरिरहेको सो ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेन्द्रसिंह भण्डारीले जानकारी दिनुभयो। सो ब्युरोले आइतबार मात्रै तीन जना बंगलादेशी र एक जना नेपालीलाई कल बाइपासमा प्रयोग हुने राउटर सिमकार्ड रिचार्ज कार्ड जीएसएम गेटवेलगायतका सामानसहित पक्राउ गरेको थियो।
प्रहरीको सक्रियता हुनुपूर्व देशभरमा करिब १ सय भन्दा बढी कल बाइपास गर्ने गिरोह संचालन भएकोमा अब भने १० देखि १५ को संख्यामा मात्रै क्रियाशील रहेको प्रहरीको अनुमान रहेको छ। ब्युरोले कल बाइपास गर्नेहरुमध्ये २५ वटा समूहलाई पक्राउ गरिसकेको छ भने थुप्रै समूहले प्रहरी सक्रियतापछि काम छोडिसकेका छन्।
भीओआईपी कारबाहीअन्तर्गत हालसम्म प्रहरीले २५ ठाउँमा कारबाही गरी २३ जना नेपाली नागरिक र ९ जना विदेशी नागरिक गरी ३२ जना पक्राउ गरिएको उहाँले बताउनुभयो।
प्रहरीले पछिल्लो पटक गरेको कारबाहीमा लाजिम्पाट साकुनामार्गबाट राजु पन्थी टुसालबाट बंगलादेशी नागरिक मोजाम मोहम्मद जोरपाटी-२ सुन्दरटोलबाट बंगलादेशी नागरिक मोहम्मद सालेह अहमद र लाजिम्पाटबाट बंगलादेशी नागरिक मोहम्मद सोराबुजामान पक्राउ परेका छन्।
पक्राउ अभियुक्तहरुबाट जीएसएम गेटवे ८ थान भ्वाइस गेटवे राउटर ४ थान एनटीसी सिमकार्ड ५ सय १३ थान एनसेल सिमकार्ड २ हजार ५ सय २८ थान १ लाख २० हजार मूल्यबराबरको रिचार्ज कार्डहरु ब्याट्री ८ थान यूपीएस ४ थान कम्प्युटर १ थान र सिमबक्स क्यापासिटी ४ सय ७६ सिम बरामद भएको प्रहरी नायब महानिरीक्षक भण्डारीले जानकारी दिनुभयो।
एनसेलको सिम वितरण प्रणाली सरल र सस्तो भएको कारण अपराधीहरुले एनसेलको सीम प्रयोग गरेको हुनसक्ने एनसेलकी प्रवक्ता कोइरालाले जानकारी दिनुभयो। विभिन्न बहानाबाट नेपाल भित्रिएका बंगलादेशी नागरिकहरुले नेपालमा बसेर भीओआईपी गरेर नेपाललाई ठूलो नोक्सानी पुर्याउने र नेपाली नागरिकको पासपोर्टको फोटो परिर्वतन गरेर विदेश जाने गरेको पाइएको डीआईजी भण्डारीले जानकारी दिनुभयो।
No comments:
Post a Comment