Tuesday, December 28, 2010

आधादर्जन नेताले मुलुकलाई बन्धक बनाएः गगन

कांग्रेस केन्द्रीय सदस्य एवम सभासद् गगन थापाले ५० वर्ष नाघिसकेका आधादर्जन नेताले मुलुकलाई बन्धक बनाएको आरोप लगाउनुभएको छ।

राजधानीमा युवा दबाब अभियानले सोमबार गरेको कार्यक्रममा थापाले नेताहरुका कारण जेठ १४ भित्र कुनै हालतमा संविधान नबन्ने निष्कर्ष सुनाउनुभयो। संविधान नबनेको जेठ १५ पछि को प्रधानमन्त्री बन्ने भन्ने प्रतिष्पर्धाको कारण सरकार बन्न नसकेको थापाको भनाइ थियो। प्रधानमन्त्री माधवकुमार नेपालमा जेठ १४ पछि पनि प्रधानमन्त्री बन्ने लोभ रहेको उल्लेख गर्दै उहाँले अविलम्ब संसद्को अधिवेशन बोलाएर तत्काल सरकारको टुंगो लगाउनुपर्ने बताउनुभयो।

५० वर्ष नाघेका आधा दर्जन नेताहरुको प्रधानमन्त्री बन्ने लोभका कारण सरकार गठन हुन नसकेको कांग्रेस नेता थापाको भनाइ थियो। एकले अर्को पार्टीलाई विश्वास नगरेको प्रसंग उल्लेख गर्दै उहाँले शान्तिप्रक्रिया संविधान निर्माण र नयाँ चुनावको तीन कालखण्डलाई बाँडेर सबैलाई पालो पुर्याइदिने गरी सरकार गठन गर्नुपर्ने उहाँको भनाइ थियो।

एकीकृत नेकपा माओवादीका नेता तथा सभासद् खिमलाल देवकोटाले शान्ति संविधान र आर्थिक रुपान्तरणको मुद्दालाई प्रधानमन्त्रीको कुर्सीसँग सौदाबाजी गरिएका कारण सरकार बन्न नसकेको बताउनुभयो।

मधेसी जनअधिकार फोरमका नेता तथा सभासद् राजकिशोर यादवले ठूला दलहरुमा आएको वैचारिक स्खलन र मतभिन्नताको कारण सरकार बन्न नसकेको बताउनुभयो। कार्यक्रममा नागरिक समाजका अगुवा तथा पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीले नेताहरुको वैचारिक बेइमानीका कारण मतभिन्नता भएको उल्लेख गर्नुभयो।

No comments:

Post a Comment