Wednesday, December 29, 2010

आरोपी प्रहरीको सम्पत्तिविवरण संकलन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुडानको डाफरमा शान्तिस्थापनार्थ खटिएका प्रहरीलाई बन्दोबस्तीका सामान खरिद घोटाला प्रकरणमा जोडिएका प्रहरी उच्च अधिकृतहरुको सम्पत्तिविवरण संकलन कार्य शुरु गरेको छ।

व्यवस्थापिका संसद् राज्यव्यवस्था समितिको मंगलबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव भगवतीप्रसाद काफ्लेले अख्तियारका अनुसन्धान अधिकृत राष्ट्र बैंकका प्रतिनिधिलगायत मिली सो काण्डमा मुछिएका प्रहरी उच्च अधिकृतहरुको सम्पत्तिविवरण धमाधम संकलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो।

अख्तियारबाट प्राप्त जानकारीअनुसार हालसम्म १५ जनाभन्दा बढी प्रहरी उच्च अधिकृतहरुको बयान लिइसकिएको छ। बयानका लागि अख्तियार गएका प्रहरी नायब महानिरीक्षकहरु रामनाथ सिंह टपेन्द्रध्वज हमाललगायत रहेका छन्। डाफरमा शान्तिस्थापनार्थ खटिएका प्रहरीलाई आठवटा महँगा गाडीलगायत अन्य सामान किन्दा लगभग ३० करोड रुपियाँ घोटाला भएको राज्यव्यवस्था समितिले प्रतिवेदन तयार पारेको थियो। सो प्रतिवेदन कार्यान्वयन गर्न सरकारले अख्तियारमा पठाएको थियो।
प्रतिवेदन प्राप्त गरेको ९ महिना बितिसक्दा पनि अख्तियारले अनुसन्धान पूरा गर्न सकेको छैन। हामीले छानबिनमा धेरै प्रगति गरिसकेका छौं’ सचिव काफ्लेले भन्नुभयो- जबसम्म निष्कर्षमा पुगिँदैन तबसम्म छानबिन जारी नै छ भन्छौं।

प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई पनि केही दिनपछि सो काण्डमा जानकारी लिन बोलाउन सकिने अख्तियारले जनाएको छ। सो काण्डमा अख्तियारमा तीनवटा टोली गठन गरी अनुसन्धान भइरहेको छ।

समितिले प्रहरी बदनाम हुन लागेका कारण संयुक्त राष्ट्रसंघले नेपाल प्रहरीलाई पुनः शान्तिस्थापनार्थ काम नदिने अवस्था आएको तर्फ ध्यानाकर्षण गराउँदै तत्काल त्यहाँ आवश्यक पर्ने पाँचवटा एपीसी ९६ वटा बुलेट प्रुफ ज्याकेट र हेलमेट दुईवटा फोर ह्विलर जिप चारवटा पिकअप र वाटर ट्रिटमेन्ट प्लान्ट १० दिनभित्र पठाउन सरकारलाई निर्देशन दिएको छ।

अख्तियारका प्रतिनिधिहरुले प्रहरी कल्याण कोषलाई सरकारको मातहतमा ल्याउनुपर्ने सुझाव दिएका थिए। सो कोष दुरुपयोग हुने गरेका कारण त्यसलाई सरकारी मातहतमा ल्याउनुपर्ने माग भएको हो। बैठकमा गृहमन्त्री भीम रावलले अर्थ मन्त्रालयले बजेट निकासा नदिएका कारण तोकिएको समयमा ती सामग्री पठाउन नसकिएको जानकारी गराउनुभयो।

No comments:

Post a Comment