नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले माओवादी र एमालेले मिलेर सरकार बनाए त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनुभएको छ।
कोइरालानिवास विराटनगरमा शनिबार प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति कोइरालाले माओवादी र एमालेले सरकार बनाए आफूहरु उनीहरुजस्तो निहुँ खोज्न नगई समर्थन गरेर बस्ने बताउनुभयो। कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता नलिने दाबी गर्दै उहाँले पुस २५ गतेको अधिवेशनले समस्याको निकास दिने बताउनुभयो।
माओवादी नेतृत्वको सरकारले जस्तै एमालेले पनि शान्तिप्रक्रियालाई बेवास्ता गरेको सभापति कोइरालाले आरोप लगाउनुभयो। प्रचण्ड प्रधानमन्त्री हुँदा पनि शान्तिप्रक्रिया टुंग्याउन लाग्नुभएन -कोइरालाले भन्नुभयो- एमालेले पनि शान्तिप्रक्रियामा जसरी लाग्नुपर्ने हो त्यसरी जान सकेन। तर कोइरालाले नेपालले समयमै शान्ति र संविधान पाउने विश्वास व्यक्त गर्नुभयो। कोइरालाले अब एक साता घुँडा धसेर छलफलमा बसियो भने सबै विषय टुंग्याउन सकिने विश्वास व्यक्त गर्नुभयो। अन्मिन फर्के पनि मुलुकको शान्तिप्रक्रिया सहज ढंगले अगाडि बढ्ने सभापति कोइरालाले बताउनुभयो। उहाँले माओवादी लडाकूको समायोजन व्यवस्थापन र पुनःस्थापनको काम गर्न नेपालीहरु सक्षम रहेको बताउनुभयो। माओवादीले पनि लोकतन्त्रप्राप्तिका लागि ठूलो आन्दोलन गरेको स्मरण गर्दै सभापति कोइरालाले त्यसबाट उनीहरु पछि हट्ने विश्वास आफूलाई नभएको भनाइ राख्नुभयो। कोइरालाले ँलोकतन्त्र स्वीकार गरिसकेको माओवादीले पछाडि फर्कन र लोकतन्त्रलाई अराजक व्यवस्था भनी व्याख्या गर्न मिल्दैन’ भन्नुभयो।
तत्कालीन स्व। सभापति गिरिजाप्रसाद कोइरालाले पत्रकारसँग कुरा गर्ने स्थानमै बसेर सभापति कोइरालाले पार्टीभित्रका कुरा नसोध्न साचारकर्मीलाई आग्रह गर्नुभयो। सुजाता कोइरालाले उपसभापतिको दाबी गरेको विषयमा प्रश्न गर्दा सभापति कोइराला बोल्न चाहनुभएन। सभापति कोइराला कांग्रेसको मेलमिलाप दिवसका अवसरमा दुई दिनअघि विराटनगर आउनुभएको हो।
No comments:
Post a Comment