Thursday, January 6, 2011

दुर्गमका महिलाको उज्यालो अभियान

चुलॊचौको र घाँसदाउरामा ४०-५० वर्ष बिताएका महिला केही समययतादेखि हरेक निकायमा समान सहभागिताको अभियानमा डुबेका छन्।

सभा-सम्मेलन बैठक भेला र निर्णायक तहमा बस्ने र जाने कार्य पुरुषको हो हामीले त घरभित्रको काम गर्ने हो भन्ने सोचाइ पूर्णतः गलत पो रहेछ त्यसैले निकै संघर्ष गरेर बाहिर पनि निस्किएका छौं र गाउँगाउँमा जागरण अभियान चलाउन थालेका छौं -दैलेखको विकट गाविस गोगनपानीकी कमला वंशीले भनिन्। महिला-पुरुष समान सहभागिताको आन्दोलनले गाउँको अनुहार नै परिवर्तन गराएको छ।

गोगनपानी नितलेका राजकुमारी राना देवकुमारी राम्जाली पवित्रा शाहीलगायतले महिला सशक्तीकरण माच महिला आवाज परियोजनामा एक वर्षयतादेखि जब सहभागिता जनाए त्यसपछि सिंगै गाउँ हुँदै जिल्लालँई नै चेतनाको बीउ छरेका छन्। यसले गर्दा गाउँमा हुने भेला एवम् बैठकमा महिला-पुरुष हातेमालो गरेर हिँड्न थालेका छन्। शुरुशुरुमा पुरुषले पोथी बासेकोजस्ता टिप्पणी गरे पनि पछिपछि गएर जब गाउँमा सकारात्मक कार्य महिलाकै सहभागितामा हुन थाल्यो तब पुरुषहरुले साथ दिन थालेको अनुभव स्थानीय महिला चन्द्रकला थापा कान्ति विश्वकर्मा टीकानाथ योगी रुपा विकले सुनाए।

दैलेख सदरमुकाम जाने मूल सडकबाट तीन-चार घण्टा पैदल हिँडेर पुग्नुपर्ने विकट गाउँमा पनि घरभित्रको काममा मात्र सीमित नभई बाहिर निस्कन सफल महिलाहरुको नेतृत्व विकाससम्बन्धी अभियानले साँच्ची नै गाउँको मुहार फेर्न थालेको विश्लेषण पुरुषहरुको पनि छ। नयाँ मान्छे देख्दा लुक्ने र बोल्न नसक्ने महिला अहिले नयाँ मान्छे देख्नासाथ आफैं कहाँबाट आउनुभएको भनी परिचय माग्ने र परिचय दिने गर्न थालेका छन्।

उनीहरु आफ्नो अधिकार स्थापित गराउन पनि कम्मर कसेर लागेका छन्। जुवातास खेलेर दिन बिताउने र जाँडरक्सी खाएर साँझ घरमा गई श्रीमती कुट्ने पुरुषलाई नयाँ चेतना दिई कुलतबाट हटाउने मात्र होइन सार्वजनिक ठाउँमा जुवातास खेल्ने र जाँडरक्सी खाने र खुवाउने कार्यलाई समेत महिलाहरुले निरुत्साहित तुल्याएका छन्।

विपना वंशी भन्दै थिइन्- केही समय त पुरुषलाई कुलतबाट रोक्न निकै अफ्ठेरो भयो कि चार-पाँच महिनायता भएको परिवर्तनले पुरुषहरु पनि खुसी नै छन्। खाए पनि घरमा आएर खाने चुप्प लागेर सुत्ने गर्छन्। तीस-चाली वर्षयता गाउँमा आएको यस्तो परिवर्तनलाई हामीले एउटा क्रान्तिकै रुपमा लिएका छौं -पविश्वरा रानाको टिप्पणी थियो। गाउँमा बन्ने सामुदायिक वन स्कुल व्यवस्थापन स्वास्थ्यचौकी व्यवस्थापन खानेपानी उपभोक्ता समिति मात्र होइन अन्य कुनै पनि महत्वपूर्ण निकायमा महिलाको प्रभावकारी सहभागिताका लागि लविङ गर्ने र नेतृत्व तहमा बस्ने कार्यसमेत हुने गरेको छ। उनीहरुले बैठकमा डटेर कुरा राख्ने काम गर्न थालेपछि बैठकको स्थिति नै बेग्लै हुन थालेको अनुभूति गोगनपानी हेल्थपोस्टका इन्चार्ज संगीनकुमार शाहीको छ।

गाउँमा हुने सानातिना झैझगडा महिलाविरुद्ध हुने घरेलु हिंसा मात्र होइन कसैलाई अफ्टेरो पर्यो भने महिलाहरु आफैं कस्सिएर समस्या समाधान गर्छन् जसलाई हामीले पनि निकै सकारात्मक रुपमा लिएर सहयोग पनि गर्ने गरेका छौं -गणेशबहादुर रम्तेल भन्दैथिए- जागरण भन्ने कुरा आफैंबाट शुरु गर्नुपर्दो रहेछ त्यो काम हाम्रो गाउँबाट भएको छ।

गोगनपानी भित्रीखोला सल्लेरीडाँडा नौतलेका महिलाहरु गीता बुढा लक्ष्मी विक निर्मला वंशी गगनसरा विश्वकर्मा टीकाकुमारी वंशी रुपा वंशी मनकुमारी खत्री गौरा विक पवित्रा विक मन्दिरा विक लक्ष्मी राना विष्णु शाही पूर्ण राना धनिश्वरा राना सीता राना मीना शाही भवि रानालगायतका महिलाले एकै स्वरमा नेपाल समाचारपत्रसँग प्रश्न गर्दै थिए- हाम्रोजस्तो विकट गाउँ जहाँ बाटो, बिजुली छैन चार-पाँच घण्टा हिँडेर मूलसडकमा पुगेर सामान ल्याउनुपर्छ त्यस्तो ठाउँलाई राज्यले कहिले हेर्ने र ?

No comments:

Post a Comment