Wednesday, January 5, 2011

भट्टराई जनविद्रोहको विपक्षमा

एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको चालू बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको प्रतिवेदनमाथि पार्टीका उपाध्यक्ष डा। बाबुराम भट्टराईले असहमति जनाउनुभएको छ।

अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत कार्यनीतिसम्बन्धी प्रतिवेदन सारसंग्रहवादी भएको र अहिले जनविद्रोहमा जानुपर्ने अवस्था नरहेको भन्दै नेता भट्टराईले असहमति जनाएपछि प्रचण्ड अप्ठ्यारोमा पर्नुभएको छ। पालुङटारको बैठकले दिएको निर्देशनमुताबिक अध्यक्ष प्रचण्ड नहिँडेको र मेलमिलापको कुरा गरेर पनि आफूले उठाएका विषयलाई नसमेटिएको भन्दै नेता भट्टराईले असहमति जनाउनुभएको छ।

पार्टीनेता मोहन वैद्य र नेता भट्टराईका फरक प्रतिवेदनलाई समेट्न प्रयत्न गरिए पनि मूल विषयलाई अध्यक्ष प्रचण्डले बेवास्ता गर्नुभएको डा। भट्टराईको आरोप छ। प्रधान शत्रु भारतलाई मान्ने कि नमान्ने आगामी राजनीतिक कार्यनीति के हुने शान्ति र संविधानलाई प्राथमिकता दिने कि जनविद्रोहलाई प्राथमिकता दिने भन्ने विषयमा पार्टीभित्र विवाद देखिएको छ।

नेता भट्टराईले शान्ति र संविधानलाई प्राथमिकता दिएर त्यसैका लागि नै आन्दोलन गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ भने अर्का नेता वैद्यले जनविद्रोहमै जानुपर्छ भन्दै आउनुभएको छ। वैद्यको विचारलाई समेटेर अध्यक्ष प्रचण्डले पनि आफ्नो प्रतिवेदनमा जनविद्रोहकै प्रस्ताव गर्नुभएको थियो।

नेता भट्टराईले शान्ति र संविधानलाई प्राथमिकता दिएमा जनयुद्ध को मर्म र भावना मुखरित हुने तर्क राख्नुभएको छ। नेता भट्टराईपक्षले अध्यक्ष प्रचण्डको प्रतिवेदनउपर नोट अफ डिसेन्ट राखेपछि छलफल दुई धारमा बाँडिएको छ। प्रतिवेदनमाथि छलफल हुने क्रम जारी छ र बैठक आज पनि बस्नेछ। भट्टराईले प्रतिवेदनउपर असहमति जनाएपछि केन्द्रीय समितिको चालू बैठकबाट पनि एकल प्रतिवेदन पारित हुने सम्भावना न्यून देखिएको छ।

No comments:

Post a Comment