शहरी क्षेत्रमा जबजब जाडो बढ्छ तब सोलार र ग्यासगिजरको प्रयोग पनि त्यत्तिकै बढ्नु स्वाभाविकै हो।
तर त्यसले मानवस्वास्थ्यमा पार्ने हानिका बारेमा प्रयोगकर्ताले कत्तिको जानकारी पाएका छन् यो सोचनीय मात्र नभई गम्भीर विषय पनि बनेको छ। हरेक उत्पादनको सुविधाका बारेमा मात्र जानकारी राखेर प्रयोग गर्दा त्यसबाट हुने बेफाइदाले ज्यानै जान सक्छ भन्ने कुरामा पनि उपभोक्ता सचेत हुनु जरुरी भइसकेको छ।
काठमाडौं शहरको अस्तव्यस्त मानवबस्तीसँगै भित्रिएका अत्याधुनिक स्रोतसाधनका माध्यमबाट सेवासुविधा लिनेहरुको कमी छैन। आयस्रोतका आधारमा जाडो महिनामा पानी तातो बनाउनका लागि सोलारदेखि ग्यासगिजरसम्म प्रयोग गर्ने उपभोक्ता यही शहरमा बढी छन्। मानवस्वास्थ्यमा सोलार प्रयोगका कारण खासै साइड इफेक्ट परेको घटना सुनिँदैन।
तर मध्यमदेखि सम्पन्न र घरदेखि कोलोनीसम्मका अधिकांशले प्रयोग गर्दै आएको ग्यास गिजरको साइड इफेक्टका कारण धेरैले ज्यान गुमाइसकेका छन्। तैपनि ग्यास गिजर प्रयोगकर्तामा सचेतना बढाउने काम उत्पादक र बिक्रेताले गरेको पाइँदैन।
पुस महिनाको चिसो पानीमा नुहाई-धुवाई गर्न अत्यन्तै कठिन भएकाले रिलायबल कोलोनी भैंसेपाटीमा बस्दै आएका सुरेन्द्र बुढाथोकीले पनि ग्यास गिजर नै प्रयोग गर्ने निधो गरे र जडान गरिहाले। तर एक साताअघि बाथरुममा ग्यास गिजरको तातो पानीमा नुहाउँदानुहाउँदै अचेत भएर लडेको अवस्थामा उनकी पत्नीलाई बचाउन बाथरुमको सिसा फुटाएर निकाल्नुपरेको अकल्पनीय घटनाले उनलाई अझै त्रस्त बनाइरहेको छ। बुढाथोकी भन्छन्- तत्कालै पाटन अस्पतालमा लगी उपचार गरेपछि मात्र पत्नी होसमा आइन्। तर उनीजस्तै बेहोस भएर सोही अस्पतालमा ल्याइएकी २४ वर्षीया युवतीले भने आफ्नै आँखाअगाडि ज्यान गुमाएको घटनाले आफूमा ठूलो त्रास फैलिएको बताउँदै बुढाथोकीले साचारमाध्यमलाई यस्तो घटनाका बारेमा जानकारी गराउन पाए अरु उपभोक्ता सचेत भई दुर्घटनाबाट जोगिन सक्छन् भन्ने अपेक्षा गरेको बताए।
पाटन अस्पतालका डा। हंगेलु शेर्पा भन्छन्- ग्यास गिजर कहिले पनि बाथरुमभित्र जडान गर्नुहुन्न र ग्यासगिजरबाट आएको तातो पानीले नुहाउँदा बाथरुमको भेन्टिलेसन हावा आवतजावत हुने गरी खुला राख्नुपर्छ। भेन्टिलेसन खुला नगरी बाथरुममै ग्यास गिजर जडान गरेर नुहाउँदा बलेको ग्यासबाट फैलिएको कार्बनडाइमोनो अक्साइड र पानीको बाफ भित्रै फैलिँदा अक्सिजनको कमीले मान्छे मूच्र्छित भई मृत्युसमेत हुन सक्छ।
त्यसै गरी बी एन्ड बी अस्पताल ग्वार्कोमा पनि ग्यास गिजर प्रयोगमा सचेतना अपनाउन नसकेका थुप्रै व्यक्ति बेहोस वा मृत्यु भइसकेको अवस्थामा ल्याउने गरेको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी टंक दुलालले जानकारी गराए। मुख्य गरी ग्यास गिजर बाथरुमभित्रै जडान गर्नु नै दुर्घटनाको प्रमुख कारण भएकाले बाथरुमबाहिरै ग्यास गिजर जडान गर्न उत्पादक र बिक्रेताले उपभोक्तालाई सचेत गराउनुपर्ने उनको धारणा छ।
विशेष गरी फेसनका रुपमा कोलोनी हाउसमा बढी मात्रामा ग्यास गिजर प्रयोग हुने गरेको र बाथरुमबाहिर गिजर जडान गर्ने ठाउँ पर्याप्त नहुने कारणले होला अहिलेसम्म उपचारमा आउने ७५ प्रतिशत ग्यास गिजर प्रयोगकर्ता कोलोनी हाउसमै बसोबास गर्ने गरेको तथ्यांक अस्पतालहरुमा रहेको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पनि यस वर्ष एक जना ग्यास गिजर प्रयोगकर्ता भर्ना भएको र उपचारपछि निको भएर घर फर्किएको आकस्मिक कक्षमा कार्यरत चिकित्सकले जानकारी गराए। यता वीर अस्पतालमा भने यस वर्ष अहिलेसम्म ग्यास गिजरका कारण समस्या भएको बिरामी नआएको अस्पतालले जनाएको छ।
तर मोडल अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकले सर्वसाधारणले अध्ययन गरेर जानकारी हासिल गर्न सक्ने विषयका बारेमा जनचेतनामूलक सूचना दिनलाई समेत मिल्दैन भने। जनचेतनाको दृष्टिले आग्रह गर्दा समेत यस्तो विषयमा मिडियालाई भन्नै मिल्दैन अहिले निकै व्यस्त छु -भन्दै पन्छिए। अस्पतालकर्मी त पन्छिएको यस विषयमा उत्पादक र बिक्रेताले त झन् जनचेतना जगाउने काम कसरी गर्लान र ?
No comments:
Post a Comment