संविधान निर्माणमा देखिएका विवाद मिलाउन बसेको संविधानसभाका सबै दलको बैठकमा आइतबार मौलिक अधिकार र न्यायाधीश नियुक्तिसम्बन्धी विषयमा सहमति हुन सकेन।
सिंहदरबारमा आइतबार बिहान बसेको बैठकमा एकीकृत माओवादी कांग्रेस एमालेलगायतका दलले ती विषयमा आ-आफ्ना अडान यथावत राखेपछि सहमति हुन नसकेको हो। बैठकपछि साचारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष झलनाथ खनालले छलफल सकारात्मक रुपमा अगाडि बढेको भन्दै सहमति हुन नसकेका विषयमा छिट्टै कुरा मिल्ने बताउनुभयो।
माओवादीका नेता देव गुरुङले दलहरुबीच मौलिक अधिकारअन्तर्गत नागरिकता र न्यायपालिका सम्बन्धमा न्यायाधीशहरुको नियुक्तिका विषयमा छलफल भए पनि सहमति हुन नसकेको जानकारी दिनुभयो। उहाँले अर्को दिन बस्ने बैठकमा त्यस विषयमा सहमति हुन सक्ने उल्लेख गर्नुभयो।
एकीकृत माओवादीले सभामुखको नेतृत्वमा एउटा संयन्त्र बनाएर प्रधानन्यायाधीश र न्यायाधीशहरुको नियुक्ति गर्न जोड दिएको छ। कांग्रेस र एमालेले न्यायालयलाई संसद्अन्र्तगत ल्याउन नहुने भन्दै आएका छन्।
त्यसै गरेर नागरिकताको विषयमा पनि दलहरुका आ-आफ्नै अडान रहेका छन्। नागरिकताका विषयमा मधेसवादी दल र महिला अधिकारकर्मीले भनेजस्तो गरेर दिन मिल्ने या नमिल्ने भन्ने विषयमा विवाद रहेको छ। यसअघि कार्यदलले तयार पारेका सहमतिका विषयमा पछिल्लो समयमा संविधानसभाका सबै दलको संयुक्त बैठकमा छलफल हुँदै आएका छन्।
No comments:
Post a Comment