प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले पार्टीभित्रका जिम्मेवारीमा हेरफेरसहितको एजेन्डा केन्द्रीय समितिको बैठकमा लैजाने भएको छ।
कोटेश्वर पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको माओवादी स्थायी समिति बैठकले पार्टीमा कार्यविभाजनको प्रस्ताव लैजानेलगायतका एजेन्डा तय गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो। उहाँले हाल नेताहरुमा रहेको कार्यविभाजनमा समेत हेरफेर गरिने बताउनुभयो। उपाध्यक्ष डा. बाबुराम भट्टराई समर्थितको पार्टीका महत्वपूर्ण स्थानमा जिम्मेवारी नरहेको भन्ने गुनासो बढेपछि सबैलाई समेटेर माओवादीले कार्यविभाजन गर्न लागेको हो।
माओवादीको आज सोमबारबाट केन्द्रीय समितिको बैठक बस्दै छ। बैठकमा तीन शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्षद्वय मोहन वैद्य र डा. बाबुराम भट्टराईका धारणा समेटेर प्रस्ताव लैजाने तयारीसमेत गरेको बुझिएको छ। यसअघि माओवादी अध्यक्ष दाहालले उपाध्यक्ष वैद्यको कार्यनीतिसम्बन्धी दस्तावेजलाई मात्र समेटेर आफ्नो प्रतिवेदन पारित गराउनुभएकॊ थियो। आजबाट हुने केन्द्रीय समिति बैठकमा उपाध्यक्ष भट्टराईलाई कारबाही गर्न उठेको मागप्रति पनि छलफल हुने एक नेताले बताएका छन्।
माओवादीले बृहत् शान्तिसम्झौताको उल्लंघन गरेर केन्द्रीय नेता खड्गबहादुर विश्वकर्माको गाडी कब्जा गरेको आरोप लगाएको छ। माओवादीले शान्ति मन्त्रालयसँगको सम्झौताअनुसार चलाएको गाडीलाई तत्काल फिर्ता गर्न सरकारसँग मागसमेत गरेको छ।
भट्टराईलाई कारबाहीबारे छलफल भएको छैन
काठमाडौं, (नेस), एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई कारबाही गर्ने विषयमा अहिलेसम्म छलफल नै नभएको बताउनुभएको छ। पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले यस विषयमा औपचारिक र अनौपचारिक रुपमा कुनै पनि छलफल नै नभएको बताउनुभयो। उहाँले शान्ति र संविधानका लागि सबै दल एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो।
No comments:
Post a Comment